झारफुकले अर्थतन्त्रको सुधार पुग्दैन, ‘सर्जरी नै गर्नुपर्छ: स्वर्णिम वाग्ले
काठमाडाैं | बैशाख २५, २०८०
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आउँदो आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे । त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ ।
‘धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ’, वाग्लेले भने, ‘आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, सङ्घीयताको सबलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ ।’
बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे । ‘यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ’, वाग्लेले भने ।
अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले भने । ‘चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ’, उनले भने, ‘लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ । तर सङ्कटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।’
नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेकोउनले उल्लेख गरे ।
‘बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरूपमा २०÷२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन’, सांसद वाग्लेले भने ।
सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा परेको ‘ओम्निबस’ आर्थिक सुधारका विषयलाई गम्भीर भएर लिइनुपर्ने उनले बताए । ‘छोटो समयमा ठूलठूला काम गर्नुछ । लगानीमैत्री वातावरण बनाउनका लागि चार दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने भनिएको छ । त्यसमा सरकारको ध्यान पुगोस्’, वाग्लेले भने ।
नेपालमा डिजिटल प्रविधिको पर्याप्त विकास हुन नसकेको, विश्वआपूर्ति शृङ्खला खल्बलिएको, सस्तो पुँजी दुर्लभ हुँदै गएको, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पर्याप्त रहेपछि त्यहाँबाट पाइने सेवाको प्रभावकारिता देखिन नसकेकोलगायतका विषय उनले उठाएका छन् ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

